आईटीएफ नेपालको दशौँ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न

khabarhubs.com

भक्तपुर-तेक्वान्दो आईटीएफ नेपालद्वारा आयोजित दशौँ अन्तर–विद्यालय तेक्वान्दो प्रतियोगिता माघ १७ गते भक्तपुरको चितपोलस्थित बास्केटबल हलमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा १७ वटा विद्यालयका २०६ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो। प्रतियोगिताअन्तर्गत व्यक्तिगत तुलस्प्यारिङ विधामा प्रतिस्पर्धा गराइँदा ४४ स्वर्ण, ४४ रजत र ८८ कास्य पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

कुल १३ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै काभ्रेपलाञ्चोकको चक्रज्योति विद्यालयले टिम प्रथमको उपाधि हात पार्‍यो। त्यसैगरी ७ स्वर्ण, ४ रजत र १७ कास्य पदकसहित काठमाडौँको सुनाखरी पाठशाला टिम द्वितीय बन्न सफल भयो। काभ्रेकै विकटेश्वर अंग्रेजी विद्यालयले ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै तृतीय स्थान हासिल गर्‍यो।

व्यक्तिगततर्फ चक्रज्योति विद्यालयकी छात्रा मिङ्मा दाम्चोई लामा उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने छात्रतर्फ भक्तपुरको इडेन गार्डेन विद्यालयका सिद्धार्थ भुजेल उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत, प्रतियोगिता संयोजक गयाजी खड्का तथा सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० का वडाध्यक्षलगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

पुरस्कार वितरण समारोहमा मास्टर बस्नेतले तेक्वान्दो आईटीएफ नेपालका कोषाध्यक्ष गयाजी खड्कालाई पाँचौँ डान, सहायक प्रशिक्षक आस्तिक नकर्मीलाई तेस्रो डान तथा अन्य ३२ जना खेलाडीहरूलाई प्रथम र दोस्रो डान ब्ल्याक बेल्टको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया