ललितपुर-नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा तेस्रो डान ग्रेडिङ कार्यक्रम आज ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको आफ्नै भवनमा सम्पन्न उक्त ग्रेडिङ कार्यक्रम ४९औँ ब्याच (49th Batch) तेस्रो डान ग्रेडिङ ट्रेनिङ सेसन अन्तर्गत सञ्चालन गरिएको हो।
कार्यक्रममा वरिष्ठ गुरु टार्जन सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै नेपाल तेक्वान्दो संघका सम्मानित सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा उहाँहरूको सहभागिताले कार्यक्रमलाई थप गौरवमय र प्रेरणादायी बनाएको आयोजकले जनाएको छ।
ग्रेडिङ परीक्षामा परीक्षक गुरु दिनेश कुमार बाँडा तथा ग्रेडिङ सहायक जित बहादुर बोट को महत्वपूर्ण भूमिका रहेको थियो। आयोजक संस्थाले उहाँहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
उक्त ग्रेडिङ कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। दोस्रो डानबाट तेस्रो डानमा पदोन्नति प्राप्त गर्न सफल सम्पूर्ण प्रशिक्षार्थीहरूलाई संस्थातर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
आयोजकका अनुसार प्रशिक्षार्थीहरूको अनुशासन, निरन्तर अभ्यास तथा तेक्वान्दोप्रतिको दृढ समर्पणकै परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो, जसप्रति संस्थाले गर्वका साथ प्रशंसा व्यक्त गरेको छ।
संस्थाले आगामी दिनहरूमा पनि तेक्वान्दो क्षेत्रको विकास तथा खेलाडीहरूको व्यक्तिगत सफलतामा अझ प्रभावकारी योगदान रहने अपेक्षा व्यक्त गर्दै तेक्वान्दोका मूल्यमान्यता—अनुशासन, सम्मान र समर्पण—सदैव उजागर रहोस् भन्ने कामना गरेका छन।