काठमाडौँ-परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यूले आज परराष्ट्र मन्त्रालयमा संयुक्त अरब इमिरेट्स (UAE) का नेपालस्थित राजदूत महामहिम श्री अब्दुल्ला अल शम्सीसँग शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा नेपाल र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, दुई देशबीच आर्थिक साझेदारी विस्तार गर्ने, लगानी तथा सहकार्यका नयाँ अवसरहरूको पहिचान गर्ने, र आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको बताइएको छ।
बैठकमा द्विपक्षीय मात्र नभई क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा समेत आपसी समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
२ बैशाख २०८३, बिहिबार ०७:३४ मा प्रकाशित