जय मातृभूमि पार्टीद्वारा संक्षिप्त घोषणापत्र सार्वजनिक

khabarhubs.com

काठमाडौं-जय मातृभूमि पार्टीले आफ्नो पार्टी परिचय तथा संक्षिप्त घोषणापत्र सार्वजनिक गरेको छ। “राष्ट्रियता, नागरिकता, सुशासन, समृद्धि र नेपालवाद” लाई मूल आधार मानेर अघि बढ्ने प्रतिबद्धतासहित पार्टीले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

घोषणापत्रमा नेपाली नागरिकको पहिचान, भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। ‘Made in Nepal’ अभियानलाई सरकारी तथा निजी क्षेत्रमा अनिवार्यरूपमा प्रयोग गर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पार्टीले लिएको छ।

पार्टीले कृषि, उद्योग, जलस्रोत, पर्यटन र रोजगारी सिर्जनालाई राष्ट्रिय विकासका मुख्य आधारका रूपमा अघि सारेको छ। “एक गाउँ एक उत्पादन” अवधारणामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारतर्फ आकर्षित गर्ने नीति घोषणापत्रमा उल्लेख छ।

सुशासन, भ्रष्टाचार नियन्त्रण, न्यायिक सुधार, शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच, महिला–पुरुष समानता तथा सामाजिक न्यायलाई पनि घोषणापत्रको महत्वपूर्ण एजेन्डाका रूपमा समेटिएको छ। साथै, विदेशमा रहेका नेपाली र पूर्व राष्ट्रसेवकको सीप तथा अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने नीति लिइने जनाइएको छ।

जय मातृभूमि पार्टीले आगामी निर्वाचनमार्फत वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्दै समुन्नत र आत्मनिर्भर नेपाल बनाउने लक्ष्यसहित जनताको विश्वास जित्ने दाबी गरेको छ।

प्रतिक्रिया