काठमाडौं-श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा अनुगमन, नियम उल्लङ्घन गर्ने संस्थालाई निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमन तीव्र बनाएको छ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८२/०८३ को अवधिमा विभिन्न प्रतिष्ठानहरूको निरीक्षण तथा अनुगमन गरिएको हो।
अनुगमनका क्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, नियमित श्रम अडिट नगरेको तथा सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएको लगायतका समस्या देखिएका छन्।
यस्ता कमजोरी भेटिएका संस्थाहरूलाई श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ अनुसार तत्काल सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले अनुगमनका क्रममा श्रमिकको कार्यस्थल अवस्था, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य, श्रम अधिकारको पालना, सामाजिक सुरक्षा अवस्था लगायतका विषयमा समेत मूल्याङ्कन गरेको छ।
सरकारले श्रमिक अधिकार सुनिश्चित गर्न तथा कार्यस्थललाई सुरक्षित बनाउन नियमित अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।