मानव उद्धार कार्य सुरु, कार्यवाहक प्रमुख आफैँ फिल्डमा; मेयर पनि अनुगमनमा सहभागी

khabarhubs.com

काठमाडौं-काठमाडौं महानगरपालिकाले सडकमा आश्रित तथा सहयोगापेक्षी मानवहरूको उद्धार तथा पुनःस्थापना कार्य औपचारिक रूपमा सुरु गरेको छ। अभियानअन्तर्गत महानगरका कार्यवाहक प्रमुख स्वयं फिल्डमा उपस्थित भई उद्धार कार्यको अनुगमन गर्नुभएको छ। साथै महानगरका मेयर पनि उद्धार तथा व्यवस्थापन कार्यमा सहभागी भई स्थलगत निरीक्षण गर्नुभएको छ।

महानगरपालिकाले यो उद्धार कार्य दैनिक तीन सिफ्टमा सञ्चालन गर्ने जनाएको छ। उद्धार कार्यमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरू लगायत सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको छ।

आजको अभियानअन्तर्गत पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय एक पुरुष, रामेछाप घर भएका ५०, ४८ र ४१ वर्षीय गरी तीन जना पुरुष तथा काभ्रे घर भएका ४८ र ५० वर्षीय दुई जना व्यक्तिसहित कुल ६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाले युरिन क्याथेटर प्रयोग गरिरहेको, एक जनाको बायाँ खुट्टा काटिएको र एक जनाले क्षयरोगको औषधि सेवन गरिरहेको जानकारी प्राप्त भएको छ।

पशुपति क्षेत्रपछि टोली कालीमाटी पुगेको थियो, जहाँ काभ्रे घर भएका ८६ वर्षीय एक जना ज्येष्ठ नागरिक र ५० वर्षीय एक पुरुषको उद्धार गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

त्यसैगरी, टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार गरिएको छ।

यस प्रकारको अभियानले सडकमा आश्रित व्यक्तिहरूको उद्धार, उपचार र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया