काठमाडौँ-राष्ट्रिय लिग २०८२ को औपचारिक उद्घाटन आज दशरथ रङ्गशालामा सम्पन्न भएको छ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रतियोगिताका अफिसियलहरूलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्द्रमान तुलाधरको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहअघि चर्चित गायक सज्जन राज वैद्यले सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो।
उद्घाटन खेलमा मच्छिन्द्र फुटबल क्लबले न्यू रोड टिम (एनआरटी) लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मच्छिन्द्रका अलिक श्रेष्ठले खेलको ६२औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उक्त गोल नै खेलको एकमात्र तथा निर्णायक गोल बन्न पुग्यो।
न्यू रोड टिमले खेलभरि राम्रो प्रयास गरे पनि गोल गर्न भने असफल रह्यो।