नोरबु लामा पहिलो नेपाली ‘फर्स्ट क्लास इन्टरनेशनल पूम्से रेफ्री’ घोषित

khabarhubs.com

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (NSC) अन्तर्गत तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नोरबु लामाले वर्ल्ड तेक्वान्दो (WT) बाट प्रदान गरिने ‘फर्स्ट क्लास इन्टरनेशनल पूम्से रेफ्री’ को उपाधि प्राप्त गर्दै इतिहास रचेका छन् । उनी यो मान्यता प्राप्त गर्ने पहिलो नेपाली बनेका हुन् ।

यो उपलब्धिले नेपाली तेक्वान्दोको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्‍याएको नेपाल तेक्वान्दो संघले जनाएको छ । संघका अनुसार लामालाई प्रदान गरिएको प्रमाणपत्र औपचारिक रूपमा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीप राज गुरुङले हस्तान्तरण गरेका हुन् ।

लामाको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली खेलकुद र तेक्वान्दो समुदायका लागि गर्वको विषय बनेको छ । उनको निरन्तर मेहनत, अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डमा हासिल गरेको दक्षताले आगामी दिनमा नेपाली तेक्वान्दो रेफ्रीहरूको अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

नेपाल तेक्वान्दो संघले नोरबु लामालाई बधाई ज्ञापन गर्दै भविष्यमा पनि राष्ट्रको नाम विश्वमञ्चमा उच्च राख्ने विश्वास व्यक्त गरेको छ । 

प्रतिक्रिया