काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा गृह तथा रक्षा सचिवसहित चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै स्वीकृत भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिम्मेवार निकायहरूले गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको अवस्थाबारे समीक्षा गरिएको छ।
चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षासम्बन्धी गरेका तयारीबारे बैठकमा ब्रिफिङ प्रस्तुत गरेका थिए। साथै वर्तमान सुरक्षा अवस्था र सम्भावित चुनौतीहरूको विश्लेषण गर्दै आपसी समन्वयमार्फत प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा छलफल भएको छ।
बैठकले निर्वाचन कार्यक्रमसँग समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ। साथै राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउने निर्देशन सबै जिल्ला सुरक्षा समितिलाई दिने निर्णय पनि गरेको छ।
त्यसैगरी निर्वाचन प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी गतिविधि देखिए कडाइका साथ कारबाही गर्ने निर्णय समेत बैठकले गरेको छ।