काठमाडौं-भारतको बैंगलोरमा जनवरी २४ देखि २६ तारिखसम्म आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहभागी भई तेक्वान्दो आईटीएफ नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगितामा नेपालका शान्तकुमार राना मगरले व्यक्तिगत स्पारिङ र टुल (Pattern) विधामा गरी दुई स्वर्ण पदक जित्न सफल भएका छन्। त्यसैगरी आस्तिक नकर्मीले स्पारिङ र टुल तर्फ दुई रजत पदक हात पारेका छन्।
उक्त प्रतियोगिता तथा तालिममा नेपाल, भारत, मलेशिया, बेलायत र अफगानिस्तानका खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहेको थियो। आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले अन्तर्राष्ट्रिय प्रशिक्षक तालिममा सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगितामा निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
नेपालबाट तीन सदस्यीय टोली सहभागी भएको उक्त कार्यक्रममा नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा देशको तेक्वान्दो प्रतिष्ठा अझै उचो बनाएको छ।
तेक्वान्दो आईटीएफ नेपालले पदक विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।