नेपालको शानदार सुरुवात : पहिलो अभ्यास खेलमै मुम्बई क्रिकेट एसोसिएसन एघारलाई ७ विकेटले पराजित

khabarhubs.com

काठमाडौं-भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमै सानदार सुरुवात गरेको छ। मुम्बई क्रिकेट एसोसिएसन (एमसिए) प्रेसिडेन्ट–११ विरुद्धको खेलमा नेपालले ७ विकेटको सहज जित हात पारेको हो।

एमसिए प्रेसिडेन्ट–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। उसका लागि सिद्धार्थ आक्रेले २० बलमा २८ रन बनाए भने परिक्षित वालसाङ्कर २८ बलमा २७ रन जोड्दै नटआउट रहे। नेपालका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट लिए। कुशल भुर्तेलले ४ ओभरमा २५ रन दिएर १ विकेट झारे।

१४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान रोहित पौडेलले जिम्मेवार ब्याटिङ गर्दै ४३ बलमा अविजित ५० रन बनाए। उनलाई कुशल भुर्तेलले २१ बलमा ३८ रनको आक्रामक इनिङ खेलेर राम्रो साथ दिए।

एमसिएतर्फबाट प्रतिक मिश्राले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए भने धनित राउतले ३.२ ओभरमा २९ रन दिएर १ विकेट झारे।

यस जितसँगै भारत भ्रमणको सुरुआती अभ्यास खेलमै नेपालले आत्मविश्वासपूर्ण प्रदर्शन गरेको छ। ब्याटिङ, बलिङ र टिम संयोजन सबै पक्ष सन्तुलित देखिएको भन्दै क्रिकेट समर्थकहरूले टोलीको प्रदर्शनको प्रशंसा गरेका छन्।

प्रतिक्रिया