राप्रपा केन्द्रीय कार्यालयमा अनसन

khabarhubs.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै पार्टीका महिला नेताहरूले केन्द्रीय कार्यालय, धुम्बाराहीमा अनसन सुरू गरेका छन्।

समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको विरोध गर्दै नेता नानीमैयाँ आचार्य र चम्पा अधिकारी आमरण अनसनमा बसेका हुन्। उनीहरूका अनुसार पार्टीले बुझाएको समानुपातिक उम्मेदवार सूची समावेशी र न्यायोचित छैन।राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा नेता खुश्बु ओली लगायतका नाम समावेश गरिएको छ।

यसप्रति असन्तुष्टि जनाउँदै महिला नेताहरूले पार्टीभित्र अवसर केही सीमित व्यक्तिको परिवारमा केन्द्रित हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेका छन्।

अनसनरत नेताहरूले समानुपातिक प्रणालीको मूल मर्म विपरीत सूची तयार पारिएको भन्दै तत्काल संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

यस विषयमा पार्टी नेतृत्वले भने औपचारिक प्रतिक्रिया जनाएको छैन।उनीहरूले पार्टी नेतृत्वलाई निर्णय सच्याएर योग्य र संघर्षशील कार्यकर्तालाई अवसर दिन आग्रह गरेका छन्।

 

प्रतिक्रिया