काठमाडौं-भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथुले अखिल नेपाल फुटबल संघ (ANFA) का सम्पूर्ण पदाधिकारीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
कुथुले नेपाल फुटबलको इतिहासमा पैसाको शक्ति र राजनीतिक कोटाबाट आएका व्यक्तिहरूले ANFA सञ्चालन गर्दा अवस्था झन् जटिल बनेको आरोप लगाएका छन्। उनका अनुसार यही कारणले नेपाली फुटबल हेर्न नसकिने अवस्थामा पुगेको छ।
उनले युवा तहदेखि राष्ट्रिय टोलीसम्मका करिब तीन दर्जन खेलाडीहरू आफ्नो र परिवारको भविष्यका लागि फुटबलप्रतिको माया त्याग्दै अस्ट्रेलिया तथा अन्य मुलुकतर्फ पलायन हुन बाध्य भएको उल्लेख गरेका छन्।
फेसबुकमा गरिएको पोस्टमा कुथुले FIFA को पत्रलाई उद्धृत गर्दै नेपाली फुटबल प्रतिबन्धको संघारमा पुगेको चेतावनी दिएका छन्। यदि नेपाली फुटबलमा प्रतिबन्ध लागेमा आफूहरू लगायत आउने पुस्ताले खेल्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी ANFA का सबै पदाधिकारीले लिनुपर्ने उनको भनाइ छ।
उनले थप लेखेका छन्, “यदि यसरी हामीलाई फुटबलबाट वञ्चित गरिन्छ भने त्यसको सजायको भागिदारी पनि तपाईंहरूकै हुनेछ। हाम्रो कठोर संघर्षको सजाय भोग्न तयार रहनुहोस्। खेलाडीहरू तपाईंहरूको औँलाको इशारामा चल्ने पुतला होइनन्, न त तपाईंहरूको बिकाउ वस्तु।”
कुथुको यो अभिव्यक्तिले नेपाली फुटबलको वर्तमान अवस्था र ANFA नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ।