काठमाडौँ-वरिष्ठ अभिनेता सुनिल थापाको आज बिहान हृदयाघातका कारण निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहनुभएको थियो। नेपाली चलचित्रमा ‘खलनायक’ पात्रलाई पनि नायक सरह उचाइमा पुर्याउन सफल थापा विशेषगरी ‘राते काइँला’ को नामले अत्यन्त चर्चित हुनुहुन्थ्यो।
पर्दामा शक्तिशाली नकारात्मक भूमिकाबाट दर्शकमाझ गहिरो छाप छोड्न सफल थापा, पर्दाबाहिर भने सरल, विनम्र र सकारात्मक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँका अभिनयले नेपाली चलचित्रलाई गहिराइ र मजबुती दिएको चलचित्रकर्मीहरू बताउँछन्।
नेपाली चलचित्र उद्योगले आज एउटा महान् कलाकार मात्र होइन, एउटा बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ।
थापाका परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।