धनुषा-४० भन्दा बढी जेन जी उमेर समूहका युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मधेशवादी विभिन्न दलमा आवद्ध रहेका युवाहरुको समूह आज नेपाली कांग्रेसमा प्रवेश गरेको हो।
इजाज अन्सारीको नेतृत्वमा रहेका ती युवाहरुले अन्य दललाई पटक–पटक सहयोग गरे पनि अपेक्षित राजनीतिक रूपान्तरण हुन नसकेको भन्दै विमलेन्द्र निधिलाई नेताको रूपमा स्वीकार गर्दै कांग्रेस प्रवेश गरेका हुन्।
पार्टी प्रवेशअघि युवाहरुले जनकपुरधाममा मोटरसाइकल र्यालीसमेत प्रदर्शन गरेका थिए। कांग्रेस नेता विमलेन्द्र निधिले गम्छा र माला लगाएर नवप्रवेशी युवाहरुलाई पार्टीमा स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले युवाहरुको भूमिकालाई महत्वपूर्ण बताउँदै तत्कालै चुनावी अभियानमा होमिन आग्रह गरे। उनले भने,
“तपाईँहरुलाई नेपाली कांग्रेसमा स्वागत छ। अब ढिला नगरी चुनावमा लागेर पार्टीलाई मजबुत बनाउन सहयोग गर्नुस्।”
उक्त कार्यक्रममा सहभागी युवाहरुले नेपाली कांग्रेसमार्फत मधेश र देशको समग्र विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।