प्रचण्ड:-जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ!

khabarhubs.com

रुकुम पूर्व-नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनभावनाअनुसार रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल रुकुम पूर्वद्वारा बुधबार रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न दीर्घकालीन विकासको स्पष्ट ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। जिल्लाको इतिहास, भूगोल, संस्कृति र विविध जातजातिको भावनालाई समेट्ने गरी विकास कार्यक्रम अघि बढाइने उनले बताए।

“जनयुद्धको आधार क्षेत्रको विकासलाई नयाँ ढङ्गले गति दिने मेरो सङ्कल्प छ,” दाहालले भने, “यहाँका जनताको भावना र अपेक्षा बुझेर नै मैले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएको हुँ।”

उनले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पारे। राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै उनले रुकुम पूर्वलाई समाजवादको आधार इलाकाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

कार्यक्रमकै क्रममा संयोजक दाहालले सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तरक्रिया गर्दै “अब के कस्तो विकास चाहिन्छ ?” भन्ने विषयमा जनताको चासो र सुझावसमेत संकलन गरेका थिए।

प्रतिक्रिया