नेपालभर मतदान सुरु, प्रधानमन्त्री सुषिला कार्कीले पनि गरिन् मतदान

khabarhubs.com

काठमाडौँ-आज फागुन २१ गते देशभर प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहानैदेखि देशका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ। युवा, वृद्ध, महिला तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरू उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेका छन्।

प्रधानमन्त्री सुषिला कार्की ले पनि आफ्नै गृह जिल्लाको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सम्पूर्ण नेपाली जनतालाई मतदानमा सहभागी हुन आग्रह गर्नुभयो।प्रधानमन्त्री कार्कीले भन्नुभयो:“आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,आज फागुन २१ गते अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति म आभार व्यक्त गर्दछु।”निर्वाचन आयोगका अनुसार देशभर हजारौँ मतदान केन्द्रमार्फत मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताइएको छ।

राजनीतिक दलका शीर्ष नेता तथा उम्मेदवारहरूले पनि आ–आफ्नो क्षेत्रमा पुगेर मतदान गरिरहेका छन्। आजको मतदानले देशको आगामी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले मतदातामा उत्साह देखिएको छ।

प्रतिक्रिया