जनकपुरधाममा सेवा सहजीकरण: RSP प्रवक्ता तथा सांसदद्वारा प्रशासन र प्रहरीसँग प्रत्यक्ष भेटघाट

khabarhubs.com

जनकपुरधाम, धनुषा-आज जनकपुरधामस्थित धनुषा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (Rastriya Swatantra Party) का प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झा द्वारा प्रत्यक्ष उपस्थित भई सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र सहज बनाउन अनुगमन तथा सहजीकरण गरिएको छ।

उहाँले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरसँग भेटघाट तथा छलफल गर्नुभएको हो।

अनुगमनका क्रममा सांसद झाले कार्यालयहरूको सेवा प्रवाह, दैनिक कार्यप्रणाली तथा सेवाग्राहीहरूको अनुभवबारे जानकारी लिनुभयो। साथै उहाँले सेवा लिन आएका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या तथा गुनासोसमेत सुन्नुभएको थियो।

सो अवसरमा उहाँले नेपाल प्रहरीलाई नागरिकको सुरक्षा, सम्मान र अधिकार संरक्षणमा थप जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्न आग्रह गर्नुभयो।

त्यसैगरी, प्रशासन र नागरिकबीचको सम्बन्धलाई अझ सन्तुलित, विश्वासिलो र सक्रिय बनाउनु राज्य संयन्त्रको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभयो।

यस प्रकारका अनुगमन तथा सहजीकरण पहलहरूले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन सहयोग पुग्ने तथा राज्यप्रति जनविश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया