धनगढी–माननीय युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले सुदूरपश्चिमको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’ लाई राष्ट्रिय गौरव र विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मन्त्री पोखरेल मंगलबार फाप्ला क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षणका लागि धनगढी पुग्नुभएको थियो। निरीक्षण टोलीमा प्रतिनिधि सभा सदस्यहरू आनन्द चन्द, के.पी. खनाल, र युवा राजनीतिज्ञ भूपदेव शाह लगायत उच्चस्तरीय व्यक्तित्वहरू सहभागी थिए।निरीक्षणका क्रममा मन्त्री पोखरेलले भन्नुभयो:
"फाप्ला आयोजनाको जग्गा प्राप्ति, DPR र EIA जस्ता सबै प्राविधिक प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अब यसलाई सरकारले विशेष प्राथमिकतामा राखेर बजेट र कार्यान्वयन अघि बढाउनेछ।"
उहाँले यो आयोजनालाई केवल खेलकुदको पूर्वाधार मात्र नभई सुदूरपश्चिमको पर्यटन र समग्र देशको आर्थिक विकासका लागि ‘गेम चेन्जर’ सावित हुने विश्वास व्यक्त गर्नुभयो।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही ले भने:"मन्त्रीज्यूको प्रतिबद्धताले आयोजना निर्माणमा नयाँ ऊर्जा थपेको छ। लामो समयको कानुनी र प्राविधिक तयारीपछि अब यो आयोजनाले चाँडै मूर्तरूप लिनेछ।"
अन्य सांसदहरूले पनि समयमै आयोजनालाई सम्पन्न गर्न संसद र सरकारतर्फबाट आवश्यक सबै सहयोग रहने सामूहिक प्रतिबद्धता जनाउनुभएको छ। निर्माण कार्यले तीव्रता पाएमा यो रङ्गशालाले दक्षिण एसियाकै उत्कृष्ट खेलग्राम को रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ।