काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्। उक्त निर्वाचन सर्वसम्मत रूपमा सम्पन्न भएको हो।
यस अवसरमा रास्वपाका सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीको तर्फबाट नवनिर्वाचित सभामुख अर्याललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
रास्वपाले प्रस्तुत गरेको उम्मेदवारीलाई प्रतिनिधि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। प्रस्तावकका रूपमा रवि लामिछाने स्वयं रहेका थिए भने समर्थकहरूमा डा. स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोबिता गौतम रहेका थिए।
विज्ञप्तिमा सबै राजनीतिक दल तथा माननीय सांसदहरूले निर्विरोध निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याएकोमा रास्वपाले धन्यवाद व्यक्त गरेको छ।
नवनिर्वाचित सभामुख अर्यालले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढंगले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संसद्लाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य लिएको पनि उल्लेख गरिएको छ।
त्यस्तै, सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्परा अनुरूप अर्यालले उम्मेदवारी दिएदेखि नै पार्टी जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता प्रदर्शन गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभाको प्रारम्भिक बैठक सञ्चालन गर्ने अर्जुननरसिंह केसीप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।