कञ्चनपुर-कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको लामो समयदेखिको खिचातानी र संरक्षणको अभावका कारण अस्तित्व संकटमा परेको छ।
वर्षौंदेखि टुंगो नलागेको सीमा विवादका कारण ताल संरक्षण हुन नसक्दा यो महत्वपूर्ण प्राकृतिक सम्पदा अतिक्रमणको सिकार बन्दै गएको हो। कुनै समय करिब २२ बिगाहामा फैलिएको यो विशाल ताल अहिले करिब पाँच बिगाहामा मात्र सीमित भएको छ।
संरक्षणको अभावले तालको ठूलो हिस्सा पुरिँदै गएको छ भने बाँकी भागमा मानवीय अतिक्रमण तीव्र बनेको छ। स्थानीय लालसिंह बोहराका अनुसार ताल कुन पालिकाको भूगोलभित्र पर्छ भन्ने प्राविधिक टुंगो नलाग्दा संरक्षण कार्य अवरुद्ध भएको हो।
‘ताल कृष्णपुर नगरपालिका–२ मा पर्छ कि लालझाडी गाउँपालिका–५ मा भन्ने विषयमा दुवै पालिकाको आ–आफ्नै दाबी छ,’ बोहराले भने, ‘स्वामित्वका लागि छिनाझपटी गर्ने तर संरक्षणमा कसैले जिम्मेवारी नलिने प्रवृत्तिले तालको अस्तित्व नै संकटमा परेको छ।’
तालको पूर्वतर्फ अतिक्रमण गरी ५० भन्दा बढी परिवार बसोबास गरिरहेका छन्। अतिक्रमण गरिएको ताल क्षेत्रमै खेतीपाती भइरहेको छ।
स्थानीयका अनुसार विसं २०५४ सालपछि ताल वरपर बस्ती बाक्लिँदै जाँदा अतिक्रमणको श्रृंखला सुरु भएको हो। स्थानीय गोपालसिंह महराका अनुसार तालको जग्गा मिचेर खेती गर्ने क्रम बढ्दै जाँदा ताल पुरिने प्रक्रिया तीव्र भएको छ।
‘पहिले यो ताल निकै गहिरो र सफा थियो, अहिले त खेतजस्तै देखिन थालेको छ,’ महराले भने।
तालको क्षेत्रफल घट्दै जाँदा यसले आसपासको भूमिगत जलस्तरमा समेत नकारात्मक प्रभाव पारेको छ। प्राकृतिक तालको विनाशसँगै यहाँको जैविक विविधता पनि लोप हुने अवस्थामा पुगेको छ। सिमसार क्षेत्रमा आश्रित जलपक्षी र अन्य जीवजन्तुको बासस्थान संकटमा परेको छ।
स्थानीय भजनी रानाका अनुसार केही वर्षअघिसम्म हिउँदमा तालमा देखिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू अहिले बस्ती विस्तारका कारण देखिन छाडेका छन्। पानीको स्रोत सुक्दै जाँदा ताल वरपरको पारिस्थितिक प्रणाली नै खल्बलिन पुगेको छ।
संघीय संरचनामा जानुअघि तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरले गडविजुला ताल ठेक्कामा लगाएर आम्दानी गर्दै आएको थियो। तर प्राकृतिक स्रोतहरू स्थानीय तहको मातहतमा आएपछि दुवै पालिकाले यसलाई आयस्रोतका रूपमा प्रयोग गर्न खोजे पनि संरक्षणको जिम्मेवारी लिन भने आनाकानी गरिरहेका छन्।
सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समिति कञ्चनपुरले पटक–पटक पहल गरे पनि ठोस उपलब्धि हुन सकेको छैन। जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराका अनुसार दुवै पालिकाका जनप्रतिनिधिसँग पटक–पटक बैठक भए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ।
‘जग्गा नापजाँच गरी विवाद टुंग्याउने सहमति भए पनि कार्यान्वयन हुन सकेन,’ उनले भने।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गाउँ विकास समिति रहँदादेखि नै गडविजुला ताल क्षेत्र नगरपालिकाको स्वामित्वमा रहँदै आएको दाबी गरे।
‘पहिले यो क्षेत्र वन क्षेत्र थियो। आरक्ष विस्थापितको बस्ती आएपछि लालझाडी गाउँपालिकाले आधा ताल आफ्नो भएको दाबी गर्न थालेपछि विवाद सुरु भयो,’ उनले भने।
उनका अनुसार नापी विभागको टोलीमार्फत सीमा यकिन गरी समस्या समाधान गर्ने सहमति भएको छ।
क्षेत्रफलका हिसाबले ठूलो र प्राकृतिक रूपमा सुन्दर गडविजुला ताललाई संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके दुवै पालिकाका लागि ठूलो आम्दानीको स्रोत बन्न सक्ने स्थानीयको विश्वास छ। ताल पुनर्जीवन भए कञ्चनपुरको पर्यटनमा नयाँ आयाम थपिन सक्छ।
तर हाल गडविजुला ताल दुई पालिकाको सीमा विवादको सिकार बनेको छ। समयमै प्राविधिक टोलीमार्फत सीमाना रेखांकन गरी अतिक्रमण नहटाए केही वर्षमै यो ताल केवल नक्सामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ।
स्रोत:-राष्ट्रिय समाचार समिति