काठमाडौँ । राष्ट्रिय लिग २०८२ अन्तर्गत आइतबार सम्पन्न खेलमा जावलाखेल युथ क्लब (JYC) ले श्री भगवती क्लब (SBC) लाई फराकिलो अन्तरले पराजित गर्दै सानदार पुनरागमन गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले एकतर्फी प्रदर्शन गर्दै जित दर्ता गर्यो।
खेलको पहिलो मिनेटमै जावलाखेलका विदेशी खेलाडी निकोलस ले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले खेलको इन्जुरी समयमा (९०+८ मिनेट) अर्को गोल थप्दै व्यक्तिगत रूपमा दुई गोल पूरा गरे।
त्यसैगरी, जावलाखेलका जर्सी नम्बर १४ का धर्मेन्द्र कुवर ले खेलको चौथो मिनेटमै गोल गर्दै दबाब बढाए भने ५७औँ मिनेटमा अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
सम्पूर्ण खेलभरि श्री भगवती क्लबले गोल गर्ने प्रयास गरे पनि जावलाखेलको मजबुत रक्षापंक्ति र गोलकिपरलाई छेक्न सकेन। धेरै अवसर सिर्जना गरे पनि श्री भगवतीका कुनै पनि खेलाडीले गोल गर्न सकेनन्।
पहिलो खेलमा पराजय बेहोरेको जावलाखेल युथ क्लबका लागि यो जित महत्वपूर्ण सावित भएको छ। यस जितसँगै जावलाखेलले राष्ट्रिय लिग २०८२ मा आफ्नो आत्मविश्वास बलियो बनाएको छ।