काठमाडौँ-चीनको लेशान मा अहिले 'कराते वान प्रिमियर लिग लेशान २०२६' अन्तर्गत जारी आयोजित विश्वस्तरीय कराते प्रतियोगितामा नेपालकी स्टार खेलाडी एरिका गुरुङ ले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि रजत पदक जित्न सफल भएकी छन्।
फाइनल प्रतिस्पर्धामा उनले काजाकिस्तानकी खेलाडी सोफ्या बेरुल्त्सेभा सँग कडा प्रतिस्पर्धा गरिन्। अत्यन्त रोमाञ्चक खेलमा एरिका १–२ अंकको झिनो अन्तरले पराजित हुँदै रजतमै चित्त बुझाउन बाध्य भइन्।
यो उपलब्धिसँगै एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा नेपालका लागि अर्को ऐतिहासिक रजत पदक थपेकी छन्, जसले नेपाली खेलकुदको गौरव अझ उचो बनाएको छ।
यस सफलतामा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, टिम म्यानेजर रबी महर्जन, नेपाल कराते फेडेरेसन तथा राष्ट्रिय खेलकुद परिषद् नेपाल (राखेप) को महत्वपूर्ण योगदान रहेको छ।
एरिकाको यो सफलता नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।