झापामा बालेनको जनसंवाद अभियान: बिहानैदेखि टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष अन्तरक्रिया

khabarhubs.com

झापा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले झापामा आज बिहानैदेखि जनस्तरको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्।

बिहानैदेखि झापाका विभिन्न टोल तथा सार्वजनिक स्थानमा पुगेर बालेनले स्थानीय मतदाता, ज्येष्ठ नागरिक, युवा तथा व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गरेका हुन्। भेटघाटका क्रममा उनले नागरिकका दैनिक समस्या, अपेक्षा र सुझावहरू ध्यानपूर्वक सुने।

ज्येष्ठ नागरिकसँगको छलफलमा बालेनले राज्यले वृद्धहरूको सम्मान, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। स्थानीय सहभागीहरूले स्वास्थ्य सेवाको पहुँच, सामाजिक सुरक्षा भत्ता, बढ्दो महँगी र रोजगारीका विषयमा गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए।

मतदातासँगको अन्तरक्रियामा बालेनले पुरानो राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै जवाफदेही, पारदर्शी र जनमुखी शासन नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए।

उनले भने, “जनताको आवाज सुन्ने र समाधानमा केन्द्रित सरकार निर्माण गर्नु हाम्रो उद्देश्य हो।”

यसैबीच, आजै बालेनले रास्वपा कमल गाउँपालिकाका वडा सभापतिहरूसँग तथा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै स्थानीय समस्या, गुनासा र सुझावहरू सुनेका छन्।

स्थानीयवासीहरूले बालेनको सहज, खुला र आत्मीय संवाद शैलीको प्रशंसा गर्दै पहिलोपटक राष्ट्रिय नेताबाट आफ्ना कुरा गम्भीरतापूर्वक सुनिएको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।

रास्वपाका अनुसार झापाबाट सुरु भएको यो जनसम्पर्क कार्यक्रम आगामी दिनहरूमा अन्य जिल्लाहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

प्रतिक्रिया