चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

khabarhubs.com

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिन बालेन शाहलाई निम्तो दिएका छन् । 

अनिल पाण्डे, विजय विनीत पाण्डे लगायत दर्जनौँ व्यक्तिहरूले बालेन शाहलाई भेटेर चुनाव लड्न आग्रह गरेका हुन् ।

काठमाडौँस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा बालेन शाहसँग भेट गरी आफूहरुले उक्त निम्तो दिएको पाण्डेले बताए । भेटका क्रममा करिब एक घण्टा लामो छलफल भएको थियो ।

पाण्डेले छलफलका क्रममा महोत्तरी क्षेत्र नम्बर ३ को वस्तुस्थिति जानकारी गराउँदै सो क्षेत्रले बालेन शाहलाई खोजेको बताए । बालेन शाहको पैत्रिक गाउँ समेत महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिका भएकाले यस क्षेत्रका जनताले आफ्नै पुर्खौली भूमिबाट निर्वाचन लड्न आग्रह गरिरहेको कुरा उनले बालेनलाई जानकारी गराएका थिए ।

झापाबाट बालेन शाह निर्वाचन लड्ने चर्चा भइरहे पनि महोत्तरी क्षेत्र नम्बर ३ पनि आफ्नो प्राथमिकतामा रहेको बालेनले बताएको पाण्डेले जानकारी दिए । उनका अनुसार माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया