काठमाडौँ-पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
भारतीय दूतावासले शुक्रबार आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’ कार्यक्रममा बोल्दै डा. यादवले नेपालको विकास प्रक्रियामा भारतको योगदान उल्लेखनीय रहेको बताए। उनले स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा तथा प्राविधिक क्षेत्रमा भारतले पुर्याएको सहयोगको स्मरण गरे।
“नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक रूपमा ऐतिहासिक सम्बन्ध रहेको छ,” डा. यादवले भने, “स्वास्थ्य, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा भारतले पुर्याएको योगदान महत्त्वपूर्ण छ।” उनले आगामी दिनमा पनि नेपाल–भारत सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नेपालका विभिन्न क्षेत्रका सरकारी कर्मचारी, प्रहरी, नेपाली सेना तथा पत्रकारलगायत ३५ हजारभन्दा बढी व्यक्तिले तालिम प्राप्त गरिसकेको जानकारी दिए।
सो अवसरमा तालिम लिएका सहभागीहरूले आफ्ना अनुभव साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।