काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले “अन्य जनावरजस्तै राष्ट्रिय जनावर गाईको मासु पनि खान पाउनुपर्छ” भन्ने अभिव्यक्ति निर्वाचन आचारसंहिताको उल्लङ्घन, बहुसंख्यक नेपाली जनताको धार्मिक आस्थामाथिको गम्भीर प्रहार भएको बताएका छन्।
सार्वजनिक गरिएको विज्ञप्तिमा अध्यक्ष लिङ्देनले यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव भंग गर्ने, धार्मिक भावना आहत गर्ने र निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने खतरा रहेको उल्लेख गरेका छन्।
उनले निर्वाचन आयोग र नेपाल सरकारलाई सम्बोधन गर्दै, गाईको मासु खान पाउनुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही गर्न आग्रह गरेका छन्। साथै, यस्ता विचारप्रति राप्रपाको तर्फबाट घोर विरोध जनाइएको छ।
राप्रपाले गाईलाई राष्ट्रिय जनावर मात्र नभई हिन्दू समाजको आस्थाको प्रतीकका रूपमा सम्मान गरिँदै आएको उल्लेख गर्दै, यस्तो विषयमा जिम्मेवार निकायले गम्भीर ध्यान दिनुपर्ने माग गरेको छ।
गाईको मासु खान पाउनुपर्छ भन्ने अभिव्यक्तिविरुद्ध देशभर तीव्र विरोध भइरहेको र यसले नेपाली समाज तथा धार्मिक सद्भावमाथि ठूलो चोट पुर्याएको राप्रपाको ठहर छ।