काभ्रे-मण्डनदेउपुर नगरपालिका–९, जितौरी पोखरीस्थित हिगुवापाटी–चन्देनी सडक खण्डमा बा.१ ज ८६७२ नम्बरको नवप्रतिभा इङ्ग्लिस बोर्डिङ स्कुलको भ्यान ब्रेक फेल भई दुर्घटनामा परेको छ।
भ्यानमा पाँच जना विद्यार्थी सवार रहेका थिए। दुर्घटनामा मण्डनदेउपुर नगरपालिका–७ निवासी अन्दाजी २४ वर्षीया चालक दिपिका ढकाल भ्यानमा चेपिएर गम्भीर घाइते भएकी छिन्। उनको कम्मर मुनिको भाग नचल्ने अवस्थामा रहेको भए पनि बोल्न सक्ने अवस्था देखिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे.क्वा. काभ्रे तथा अन्य सुरक्षाकर्मीहरूको सहयोगमा भ्यानको सिट काटी उद्धार गरी उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
भ्यानमा सवार अन्य सबै विद्यार्थीहरू भने सकुशल रहेका छन्।
स्रोत: पत्रकार देवराज केसी
१४ माघ २०८२, बुधबार ०५:१८ मा प्रकाशित