तनहुँ–१ मा स्वर्णिम दोहोरिने

khabarhubs.com


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले योग्यता, जनसमर्थन, इमानदारी र कार्यक्षमताको आधारमा उम्मेदवार छनोट गर्ने बताएको छ।

यसैक्रममा तनहुँ–१ बाट स्वर्णिम वाग्ले दोहोरिने पक्का भएको छ। २०८० सालको उपनिर्वाचनमा निर्वाचित वाग्ले पुनः सोही क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको हो। रास्वपाका उपसभापति समेत रहेका वाग्ले उम्मेदवार छनोट सिफारिस समितिका संयोजक पनि हुन्।

पार्टी नेतृत्वका अनुसार रास्वपाले अब व्यक्तिमुखी नभई प्रणालीगत ढंगबाट उम्मेदवार चयन गर्ने नीति लिएको छ। “कुन क्षेत्रबाट को उम्मेदवार बन्ने भन्ने निर्णय पार्टीको आन्तरिक मूल्याङ्कन, जनअपेक्षा र स्थानीय सुझावका आधारमा गरिनेछ,” रास्वपाका एक नेताले बताए।

देशभर बढ्दो निराशा र परम्परागत दलहरूप्रति घट्दो विश्वासका बीच रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेरिन थालेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको मुद्दा उठाउँदै आएको रास्वपाले सरकार सञ्चालन गर्न सक्छ भन्ने विश्वास आम जनतामा क्रमशः बढ्दै गएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यदि रास्वपाले उम्मेदवार छनोटदेखि सरकार सञ्चालनसम्म आफ्ना घोषणा र व्यवहारबीच एकरूपता कायम गर्न सक्यो भने आगामी दिनमा पार्टीले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावना प्रबल छ।

प्रतिक्रिया