देश निर्वाचनमय, अदालत र मनोनयनको दोहोरो दबाबमा रवि लामिछाने

khabarhubs.com

काठमाडौं — देशभर प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको रौनक चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने अदालत र निर्वाचनको दोहोरो दबाबमा देखिएका छन्।

सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा आजै पर्सा, काठमाडौं र रूपन्देहीका अदालतमा आफ्ना मुद्दाको सुनुवाइ चलिरहेको जानकारी दिएका छन्। पर्सा जिल्ला अदालतबाट भर्खरै बाहिरिएको उल्लेख गर्दै उनले अन्य अदालतका आदेश पनि आउने क्रममा रहेको बताएका छन्।

चितवन–२ का आफ्ना शुभचिन्तकहरू मनोनयनका लागि बाटो कुरिरहेको उल्लेख गर्दै लामिछानेले सम्भव भएसम्म आफैं उपस्थित भएर मनोनयन दर्ता गर्ने प्रयासमा रहेको बताए। यदि त्यसो गर्न नसकेको खण्डमा वारेसमार्फत मनोनयन दर्ता हुने उनले स्पष्ट पारेका छन्।

आफूमाथि गरिएको अन्याय र अत्याचारको हिसाब नेपाली जनताले फागुन २१ गते ‘घण्टी’ बजाएर दिने दाबी गर्दै लामिछानेले लेखेका छन्, “देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ।”

सहकारीसँग कुनै सम्बन्ध नराखेको व्यक्तिलाई मुद्दै मुद्दा लगाइएको आरोप लगाउँदै उनले यसलाई नियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। “मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुण लगाएका छौँ, म त्यो गुण चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु,” उनले लेखेका छन्।

आफू अभिमन्यु नभएको उल्लेख गर्दै लामिछानेले संघर्षबाट पछि नहट्ने संकेत दिएका छन्। सन्देशको अन्त्यमा उनले आफ्नो निर्वाचन क्षेत्रका सम्पूर्ण जनता र शुभचिन्तकप्रति धन्यवाद व्यक्त गर्दै धैर्य गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया