राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको सत्रौँ वार्षिक उत्सव सम्पन्न

khabarhubs.com

काठमाडौँ-राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले आफ्नो स्थापनाको सत्रौँ वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ। उत्सवको अवसरमा लोक सञ्चार, जनचेतना अभिवृद्धि तथा जिम्मेवार पत्रकारिताको क्षेत्रमा क्रियाशील सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक शुभकामना व्यक्त गरिएको छ।

संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले जारी गर्नुभएको शुभकामना सन्देशमा लोक सञ्चारले नेपाली समाजको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ। उहाँले लोक तथा जनसञ्चारकर्मीहरूको निरन्तर योगदानले जिम्मेवार र सचेत पत्रकारिताको विकासमा टेवा पुगेको बताउनुभयो।

उत्सवकै अवसरमा संस्थाले यस वर्ष गोविन्द शर्मा स्मृति सक्रिय पत्रकारिता पुरस्कार एक विशेष औपचारिक कार्यक्रममार्फत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। पुरस्कार वितरणसम्बन्धी मिति, समय र स्थान पछि सार्वजनिक गरिने बताइएको छ।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले नेपाली लोक संस्कृति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।

अवसरमा संस्थाका संस्थापक अध्यक्ष गोविन्द गिरीले सम्पूर्ण सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमा अध्यक्ष गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल नेपाली समाज, नेपाली माटो र मौलिक पहिचानको संरक्षणका लागि स्थापित साझा र गौरवशाली संस्था भएको उल्लेख गर्नुभयो। उहाँले संस्थाले मौलिक कला, संस्कृति, भाषा, साहित्य, गीत–संगीत, भेषभूषा, परम्परा, स्वाभिमान र पहिचानको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धनमा लोक पत्रकारितामार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।

उहाँले सिङ्गो नेपाली समाज र लोकको पत्रकारिता गर्ने सक्रिय सञ्चारकर्मीहरूको निरन्तर योगदानकै कारण संस्था देशहितमा प्रभावकारी काम गर्न सफल भएको उल्लेख गर्नुभयो। साथै संस्थाको विभिन्न समिति तथा पदमा रहेर, स्वदेश तथा विदेशबाट नेपाली लोक सञ्चारको क्षेत्रमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

अध्यक्ष गिरीले संस्थाको १७औँ स्थापना दिवस लोक पत्रकारितामा थप योगदान दिन प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्दै सबैमा एकता, प्रतिबद्धता र सक्रियताको आह्वान गर्नुभयो।

अन्त्यमा उहाँले,

“सबैको जय होस्! जय लोक, जय संस्कृति!”

भन्ने नारासहित शुभकामना सन्देश दिनुभएको छ।

प्रतिक्रिया