लुलाङमा विद्युत अभावले जनजीवन प्रभावित, केन्द्रीय लाइन जडानमा ढिलाइ

khabarhubs.com

म्याग्दी-धवलागिरी गाउँपालिका अन्तर्गत साविक लुलाङ गाविस क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासीको दैनिक जीवन प्रभावित बनेको छ। रातको समयमा उज्यालो नहुँदा घरायसी कामकाज, विद्यार्थीहरूको पठनपाठन तथा वडा कार्यालयबाट प्रदान गरिने सेवामा समस्या उत्पन्न भएको स्थानीयले गुनासो गरेका छन्।

विद्युत नहुँदा मोबाइल चार्ज गर्न नसकिएकोले सञ्चार सेवा समेत प्रभावित बनेको छ। स्थानीयका अनुसार आपतकालीन अवस्थासमेत समयमा जानकारी गराउन कठिनाइ भएको छ।

साविक लुलाङ गाविसमा करिब ३७० घरपरिवार दरखोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दै आएका थिए। गत जेठ महिनामा लुलाङ क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत सुविधा पुगेको भए पनि यसअघि लघुजलविद्युतको विद्युत प्रयोग हुँदै आएकाले स्थानीयवासीहरूले घर–घरमा मिटरबक्स जडान र आवश्यक वायरीङमा खासै चासो नदिँदा समस्या देखिएको हो।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार, केन्द्रीय लाइन पुगेपछि सरकारी आर्थिक कार्यविधिअनुसार लघुजलविद्युत परियोजनाको मर्मत सम्भव नभएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी मिटरबक्स जडान तथा विद्युत विस्तारको पहल भइरहेको छ।

उपाध्यक्ष पुनले दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रशारण लाइनको विद्युत जडानलाई प्राथमिकतामा राखिएको बताए।

गत जेठ महिनामै केन्द्रीय लाइन पुगे पनि हालसम्म खोरिया स्थित नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन बाहेक अन्य प्रयोजनमा विद्युत प्रयोग हुन नसकेको स्थानीयको भनाइ छ। छिटो विद्युत विस्तार गरी नियमित आपूर्ति सुनिश्चित गर्न उनीहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया