हेटौंडा-हेटौंडाकी चर्चित सामाजिक अभियन्ता तथा राजनीतिज्ञ बिध्या श्रेष्ठले उज्यालो नेपाल पार्टीबाट राजीनामा दिएपछि अब श्रम संस्कृति पार्टीबाट हेटौंडामा प्रत्यक्ष उम्मेदवारीका लागि टिकट लिएकी छन्।
लामो समयदेखि हेटौंडामा सामाजिक सेवामा सक्रिय रहँदै आएकी बिध्या श्रेष्ठले श्रम, उत्पादन र आत्मनिर्भरता आधारित राजनीतिक एजेन्डालाई आत्मसात गर्दै नयाँ पार्टीमार्फत अगाडि बढ्ने निर्णय लिएको बताएकी छन्।
उनको यो कदमलाई हेटौंडावासीले सकारात्मक रूपमा लिने विश्वास व्यक्त गरिएको छ। स्थानीय स्तरमै श्रम संस्कृति विकास, युवालाई रोजगारी सिर्जना, पारदर्शी नेतृत्व र इमानदार राजनीतिक अभ्यास उनका मुख्य प्रतिबद्धता रहने जनाइएको छ।
समर्थकहरू भन्छन्—“यसपाली देश बनाउने पालो माटोको हो। बिध्या दिदीको प्रयासमा हाम्रो साथ रहनेछ।”
हेटौंडामा नयाँ आशा र परिवर्तनको सन्देश बोकेर बिध्या श्रेष्ठ श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा उत्रिएसँगै स्थानीय राजनीतिमा नयाँ ऊर्जा थपिएको छ।