धनुषा । मिति २०८२ साल पुस २६ गते बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज सुग्जोरस्थित रामपालको सतलोक आश्रम वरपर देखिएको विवाद तथा झडपको घटनाबारे सामाजिक सञ्जालमा फैलिएका हल्ला र अफवाहप्रति सचेत रहन सरोकारवालाले सबैलाई आग्रह गरेका छन्।
स्थानीय समाजसेवी राजीव शाहका अनुसार, उक्त घटना ऐलानी (सरकारी) जग्गा व्यवस्थापनका क्रममा उत्पन्न विवादका कारण भएको हो।
घटनाका मुख्य तथ्यहरु
माननीय हरिनारायणज्यू तथा स्थानीय सरकारको उपस्थितिमा स्थानीय बासिन्दा र आश्रमबीच भएको बैठकबाट सरकारी (ऐलानी) जग्गा व्यवस्थापन समिति गठन गरिएको थियो। तर सोही समितिका सदस्यहरूमाथि आश्रम पक्षका सदस्यहरूले आक्रमण गरेका थिए।
आश्रमले दाबी गरेको वा दाताबाट प्राप्त गरिएको जग्गा बाहेक, त्यहाँको करिब अढाई विगाहा ऐलानी जग्गा अनधिकृत रूपमा घेराबेरा गरी संरचना निर्माण तथा कब्जा गरिएको पाइयो।
स्थानीय बासिन्दाले पटक–पटक ऐलानी जग्गा खाली गर्न आग्रह गर्दा आश्रमले मौखिक सहमति जनाउँदै आएको थियो।
मिति पुस १९ गते वडाध्यक्ष विहारी महतोको रोहवरमा मिथिला नगरपालिकाका अमिनले नापजाँच गर्दा उक्त अनधिकृत कब्जा पुष्टि भएको थियो।
त्यसपछि पुस २६ गते आश्रम, स्थानीय र नगरपालिकाबीच सहमतिअनुसार दुबै पक्षको रोहवरमा पुनः नापजाँच गर्ने निर्णयसहित माइनुटमा हस्ताक्षर भएको थियो।
सोही दिन बिहान नापजाँचबारे बुझ्न स्थानीय युवाहरू आश्रम पुगेका थिए। वडाध्यक्ष आउन बाँकी रहँदा नापी वडाध्यक्षको उपस्थितिमा मात्र हुनुपर्ने अडान राख्दा विवाद सुरु भयो।
वादविवादकै क्रममा आश्रम पक्षले एक स्थानीय युवकलाई कुटपिट गरेपछि स्थिति बिग्रियो। त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान, लाठी तथा धारिलो हतियार प्रयोग भएको झडप भयो, जसमा केही युवक गम्भीर घाइते भए।
दुई युवकलाई आश्रमभित्र नियन्त्रणमा लिएर कुटपिट गरिएको देखेपछि आक्रोशित स्थानीय बासिन्दाले सडकमा चक्का जाम गर्दै नाराबाजी गरे।
नाराबाजीकै क्रममा आश्रमबाट आएका दुईवटा एम्बुलेन्स रोक्न खोज्दा ढुंगामुढा र सवारीसाधनमा तोडफोड भएको बताइएको छ।
स्थानीयको निष्कर्ष र माग
स्थानीय पक्षका अनुसार, घटनाको सम्पूर्ण जिम्मेवारी सतलोक आश्रम पक्षको हो र भएको सम्पूर्ण क्षतिपूर्ति उनीहरूले नै बेहोर्नुपर्छ।
साथै, सौहार्दपूर्ण वातावरणमा गर्न सहमत भएको जग्गा नापीलाई अटेर गर्दै बल प्रयोग गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै, यसको अविलम्ब समाधान मिथिला नगरपालिकाले निकाल्नुपर्ने उनीहरूको माग छ।
सरोकारवालाहरूले यस विषयमा सत्य तथ्य नबुझी अफवाह र हल्लाको पछि नलाग्न सबैमा अनुरोध गरेका छन्।