काठमाडौं-पूर्वप्रधानमन्त्री डॉ. बाबुराम भट्टराई ले वर्तमान सरकारलाई कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गर्दै शनिवार–आइतबार दुई दिन बिदा दिने व्यवस्थालाई स्थायी रूपमा लागू गर्न सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) लाई सम्बोधन गर्दै यस्तो व्यवस्था वैज्ञानिक र समयानुकूल रहेको बताएका हुन्।
भट्टराईका अनुसार, इन्धन अभावका कारण अस्थायी रूपमा लागू गरिएको यो व्यवस्था दीर्घकालीन रूपमा पनि उपयोगी हुने भएकाले सार्वजनिक वार्षिक क्यालेण्डरमै समावेश गर्नुपर्ने आवश्यकता छ।
उनले दैनिक कार्यसमय बढाएर हप्तामा दुई दिन बिदा दिँदा कुल कार्यसमय घट्ने होइन, बरु बढ्ने दाबी गरेका छन्। यसले कर्मचारी तथा श्रमिकको कार्यदक्षता वृद्धि हुने, पारिवारिक जीवन सन्तुलित हुने, इन्धनको बचत हुने र वातावरण संरक्षणमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गरेका छन्। साथै, आइतबार बिदा हुँदा अन्तर्राष्ट्रिय कार्यसमयसंग तालमेल गर्न सहज हुने उनको भनाइ छ।
भट्टराईले राष्ट्रिय पात्रो सुधारको विषय पनि उठाएका छन्। नेपालसम्बत् र विक्रमसम्बत् कायम राख्दै अन्तर्राष्ट्रिय कारोवारका लागि ग्रेगोरियन (इस्वी) पात्रोको प्रयोगलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिएका छन्।
त्यसैगरी, सार्वजनिक बिदाको संख्या धेरै हुँदा आर्थिक उत्पादनमा असर परेको उल्लेख गर्दै उनले सीमित महत्वपूर्ण ऐतिहासिक दिन र साझा राष्ट्रिय पर्वमा मात्र सार्वजनिक बिदा दिनुपर्ने धारणा राखेका छन्। अन्य बिदा स्वेच्छिक वा प्रदेश तथा स्थानीय तहले निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
भट्टराईले आफ्नो कार्यकालको अनुभव सुनाउँदै, विभिन्न समुदायका चाडपर्वमा बिदा कटौती गर्न खोज्दा उल्टै थपिने प्रस्ताव आएको रोचक प्रसंग पनि साझा गरेका छन्। उनले यस्तो प्रवृत्ति दोहोरिन नदिन वर्तमान सरकारले साहसिक निर्णय लिनुपर्ने बताएका छन्।
उनको यो सुझावले सरकारी कार्यसमय, बिदा व्यवस्थापन र उत्पादकत्वबारे नयाँ बहस सुरु गराउने अपेक्षा गरिएको छ।