मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

khabarhubs.com

मकवानपुर-कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ निवासी १७ वर्षीय रोहन मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका वरथवा नगरपालिका–१ कै २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

-राष्ट्रिय समाचार समिति

प्रतिक्रिया