काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा संलग्न चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
ग्रान्डी अस्पतालका अनुसार सिटौलाको आज दिउँसो १२ बजेर ४५ मिनेटमा उपचारका क्रममा निधन भएको हो। ४५ वर्षका सिटौला चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्षसमेत हुन्।
बालेन शाहको चुनावी प्रचारका क्रममा सुदूरपश्चिम भ्रमणमा रहेका बेला अछाममा एक्कासि अचेत भएपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। त्यसयता उनी ग्रान्डी अस्पतालमा उपचाररत थिए।
स्वर्गीय सिटौला ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालकसमेत थिए। चलचित्र पत्रकार सङ्घका अनुसार सिटौलालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज दिउँसो २ः३० देखि ३ः०० बजेसम्म चलचित्र विकास बोर्डमा शव राखिनेछ।