काठमाडौं-आईसीसी पुरुष टि–२० विश्वकप २०२६ अघि भएको अफिसियल वार्म–अप खेलमा नेपालले यूएईमाथि प्रभावशाली जित दर्ता गरेको छ। आफ्नो पहिलो वार्म–अप खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको हो।
टस जितेर बलिङ रोजेको नेपालले यूएईलाई २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रनमै सीमित गर्यो। यूएईका लागि सोहाइब खानले २७ बलमा ३८ रन र हर्षित कौशिकले २४ बलमा ३५ रन बनाए। नेपालका बलरमध्ये सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। जित दिलाउने क्रममा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले। आरिफले ३७ बलमा ६१ रन बनाउँदा दीपेन्द्रले ३१ बलमा ५० रनको अविजित योगदान दिए।
यो जितसँगै नेपालले टि–२० विश्वकप २०२६ को तयारीलाई आत्मविश्वासपूर्ण ढंगले अघि बढाएको छ।
तस्बिर स्रोत :-Cricket Association of Nepal (CAN)