काठमाडौं-आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके ।
खेलको अन्तिम चरणमा नेपालका लागि रुबिना र सीताले उत्कृष्ट साझेदारी गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए । रुबिना क्षेत्रीले अविजित ३७ रन बनाउँदा सीता राना मगरले अविजित २७ रनको योगदान दिइन् । बिन्दु रावलले १८ रन बनाइन् ।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो । कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रन जोडिन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे ।
नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले २ विकेट लिँदा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । आजको जितसँगै नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ ।
हारका बाबजुद नेपाली समर्थकहरूले खेलाडीहरूको संघर्षशील प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् । समर्थकहरूले सामाजिक सञ्जालमार्फत “हार–जित खेलको हिस्सा हो, अर्को खेलमा अझ राम्रो प्रदर्शन गर्नुस्” भन्दै टोलीलाई हौसला प्रदान गरेका छन् ।
फोटो स्रोत :नेपाल क्रिकेट संघ (क्यान)