काठमाडौँ-नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको छ। सो व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सार्वजनिक बिदाका दिनहरूमा पनि स्वास्थ्य सेवाहरू निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।
निर्देशनअनुसार:
अस्पतालहरूले आफ्नो कार्यभार (Workload) र जनशक्ति अवस्था मूल्याङ्कन गरी आइतबार समेत OPD सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ।
कर्मचारीहरूको व्यवस्थापन गर्दा हप्तामा दुई दिन बिदा दिने नीति कायम राख्दै आवश्यक परे सहायक बिदा (Compensatory Leave) को व्यवस्था गर्नुपर्नेछ।
प्रादेशिक अस्पतालहरूमा समेत उक्त व्यवस्था लागू गर्न सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयहरूसँग समन्वय गर्न अनुरोध गरिएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनामा स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले बिदाका दिनहरूमा पनि सेवा प्रवाह अवरुद्ध हुन नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ।
सरकारको नयाँ बिदा व्यवस्थासँगै स्वास्थ्य क्षेत्रमा सेवा निरन्तरता कायम राख्न यो कदम महत्वपूर्ण मानिएको छ।