सिरहा-चैत २४ सिरहा नगरपालिकाका मेयरद्वारा एक कार्यालय सहयोगीमाथि कुटपिट गरिएको घटनाको विरोधमा कर्मचारीहरूले नगरपालिकाको सेवा पूर्ण रूपमा ठप्प पारेका छन्।
नगरपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै मेयरले स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी राम शरण यादवमाथि गरेको कुटपिटलाई अमानवीय र गैरकानुनी भन्दै आपत्ति जनाएका छन्। उक्त घटनाले कर्मचारीहरू असुरक्षित र अपमानित महसुस गरेको उनीहरूको भनाइ छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कर्मचारीहरूले मिति २०८२ चैत २४ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी अनिश्चितकालीन आन्दोलन सुरु गरेको घोषणा गरेका छन्।
कर्मचारीहरूको मुख्य मागहरू:
#पीडित कर्मचारीको निःशुल्क उपचार र उचित क्षतिपूर्ति व्यवस्था गरियोस्।
#कुटपिटमा संलग्न नगर प्रमुखमाथि कानुन बमोजिम कडा कारबाही गरियोस्।
#कर्मचारीहरूको सुरक्षा र सम्मानजनक कार्य वातावरण सुनिश्चित गरियोस्।
कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।