जनकपुरधाम — काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह आज काठमाडौँबाट जनकपुरधाम आइपुगेका छन्। जनकपुर आगमनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनकपुरवासीलाई शान्त र संयमित भएर बस्न आग्रह गरेका छन्।
मेयर साहले जनकपुर आउँदा अत्यन्तै खुसी लागेको बताउँदै भोलि आयोजना हुने कार्यक्रममा सबै जनकपुरवासीसँग भेट्ने उल्लेख गरे। उनले भने, “आज यहाँ आएर खुसी लागेको छ। भोलि हुने कार्यक्रममा म आफ्ना कुराहरू खुलस्त रूपमा राख्नेछु। त्यसका लागि आज तयारी, योजना र भेटघाट गरिएको हो। भोलि सबैसँग कार्यक्रममै भेटौँला।”
उनका अनुसार भोलिको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी एजेन्डा, आगामी निर्वाचनपछि देश कसरी सञ्चालन गर्ने भन्ने दृष्टिकोण तथा रास्वपालाई मतदान गर्नुपर्ने कारणबारे विस्तृत छलफल हुनेछ। सो कार्यक्रम परिवर्तनको उद्देश्यसहित आयोजना गर्न लागिएको बताइएको छ।
भोलि जनकपुरमा आयोजना हुने कार्यक्रममा बालेन साहले गर्ने कार्यक्रम तय भएको छ। सो कार्यक्रमलाई लिएर जनकपुरमा राजनीतिक तथा सामाजिक चासो बढेको छ।