हरिवनमा चिनी उद्योगको दुर्गन्ध र झिँगाको आतंक, स्थानीय आन्दोलित

khabarhubs.com

 सर्लाही-सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी उद्योग र सोही परिसरमा रहेको अमरावती डिस्टिलरीबाट निस्कने दुर्गन्ध र प्रदूषणका कारण स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

उद्योगबाट उत्पादन प्रक्रिया र मल व्यवस्थापनका क्रममा निस्कने तीव्र दुर्गन्धसँगै अत्यधिक झिँगा फैलिएको भन्दै हरिवन नगरपालिका–८ र ११ का नागरिकहरू समस्याबाट अत्यन्तै पीडित बनेका छन्।

स्थानीयका अनुसार घरभित्र बस्नै नसक्ने अवस्था सिर्जना भएको छ भने दैनिक जीवन, स्वास्थ्य र सरसफाइमा गम्भीर असर परेको छ। झिँगाको आतंकका कारण खाना खान, बस्न र बालबालिकाको स्वास्थ्य जोगाउन समेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ।

यसैबीच, समस्या समाधानको माग गर्दै स्थानीय बासिन्दाले आज हरिवन नगरपालिका कार्यालय र सम्बन्धित उद्योगलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले तत्काल प्रदूषण नियन्त्रण, दुर्गन्ध न्यूनीकरण र झिँगा नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन आग्रह गरेका छन्।

स्थानीयले माग सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया