जापानमा रेकर्ड तोड हिमपात, कम्तीमा ३० जनाको मृत्यु

khabarhubs.com

जापान, टोकियो — जापानका विभिन्न क्षेत्रमा परेको रेकर्ड तोड हिमपातका कारण पछिल्लो दुई सातामा कम्तीमा ३० जनाको ज्यान गएको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित बनेपछि जापान सरकारले उद्धार तथा राहतका लागि सेना परिचालन गरेको छ।

स्थानीय सञ्चारमाध्यम NHK का अनुसार, ९१ वर्षीया एक वृद्धा आफ्नै घरबाहिर करिब ३०० सेन्टिमिटर बाक्लो हिउँमा पुरिएर मृत अवस्थामा फेला परेकी छन्। उत्तरी सहर आमोरीमा पछिल्लो ४० वर्षयताकै सबैभन्दा धेरै हिमपात रेकर्ड भएको छ।

प्रधानमन्त्री सानाए ताकाइचीको निर्देशनमा प्रभावित क्षेत्रमा सेनालाई खटाइएको हो। सरकारले हिमपहिरो, छानाबाट खस्ने हिउँ तथा भवन भत्किने जोखिमप्रति नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साथै, विद्युत् अवरुद्ध हुन सक्ने चेतावनी पनि दिइएको छ।

NHK का अनुसार आमोरी सहरमा जमिनमा जमेको हिउँको मात्रा १७५ सेन्टिमिटर पुगेको छ, जुन यो समयको औसतभन्दा दोब्बरभन्दा बढी हो। केही स्थानमा १८३ सेन्टिमिटरसम्म हिउँ जमेको छ, जसले सन् १९८६ को रेकर्ड तोडेको छ।

आमोरी प्रान्तका गभर्नर सोइचिरो मियाशिताले वृद्धवृद्धालाई लक्षित गरी विशेष राहत आवश्यक रहेको बताउँदै सेनासँग सहयोग मागिएको जानकारी दिएका छन्। “छानाबाट खस्ने हिउँ र भवन भत्किने जस्ता घटनाबाट ज्यान जाने जोखिम अत्यन्तै उच्च छ,” उनले चेतावनी दिए।

अन्य सहरहरूमा पनि १३५ सेन्टिमिटरभन्दा बढी हिउँ जमेको छ। अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार जनवरी २० देखि हालसम्म हिमपातजन्य घटनामा ३० जनाको मृत्यु भएको हो भने करिब २९० जना घाइते भएका छन्।

निगाता प्रान्तमा हिउँ हटाउने क्रममा दुई जना पुरुष पानी बग्ने नहरमा बगेर बेपत्ता भएको जनाइएको छ। धेरैजसो घटनामा मानिस छानाबाट खस्ने, काम गर्ने क्रममा अचानक बिरामी पर्ने वा थकानका कारण मृत्यु भएको बताइएको छ।

मौसम विभागका अनुसार आर्कटिक क्षेत्रबाट आएको चिसो हावाको प्रभावले जापानका केही भागमा सामान्यभन्दा दोब्बर हिमपात भइरहेको छ। यस हिमपातले आइतबार हुने तय भएको संसदीय निर्वाचनमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

प्रधानमन्त्री ताकाइचीले मंगलबार आपत्कालीन क्याबिनेट बैठक बोलाएर ज्यान जाने र दुर्घटना रोक्न सबै मन्त्रालयलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकी छन्।

स्रोत: समाचार एजेन्सी(अल जजीरा समाचार) 

प्रतिक्रिया