उम्मेदवार खगेन्द्र सुनारका अभिव्यक्तिप्रति रास्वपाको स्पष्टीकरण, क्षमायाचना र प्रतिबद्धता

khabarhubs.com

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जालमा आफ्ना उम्मेदवार खगेन्द्र सुनारसँग सम्बन्धित अभिव्यक्तिका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छ। पार्टीले नेपालको संविधान, प्रचलित कानून तथा देशको मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैं सजग र प्रतिबद्ध रहेको जनाएको छ।

रास्वपाले सामाजिक सञ्जालमा फैलिएका अभिव्यक्तिले समाजमा उत्पन्न अन्योल तथा धार्मिक–सांस्कृतिक भावनामा पुगेको ठेसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको हो।

विज्ञप्तिमा उम्मेदवार खगेन्द्र सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिबाट सिर्जित भ्रम र भावनात्मक चोटप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको जनाइएको छ। उनले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान रहेको स्पष्ट पारेका छन्।

पार्टीका अनुसार सामाजिक सञ्जालमा उनका केही भनाइहरू तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उनले आत्मलोचना गर्दै क्षमायाचना गरेका छन्।

यसैगरी रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति तथा व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न आधिकारिक निर्देशन दिएको जनाएको छ। पार्टीले उनका अभिव्यक्तिको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएकोमा आफू आश्वस्त रहेको स्पष्ट पारेको छ।

रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको उल्लेख गर्दै पार्टीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता संरक्षणमा सधैं प्रतिबद्ध रहने जनाएको छ।

विज्ञप्तिमा पार्टी कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरूको पक्षमा नरहेको र नरहने स्पष्ट गरिएको छ। रास्वपाले आफ्ना उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र नभई भोलिको संसदमा संयमित, मर्यादित र विधि–विधानलाई सम्मान गर्ने जिम्मेवार नेतृत्वका रूपमा प्रस्तुत हुने विश्वास दिलाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको विज्ञप्तिमा रास्वपा विधिको शासन, सामाजिक न्याय तथा धार्मिक–सामाजिक सद्भाव कायम राख्दै समावेशी समाज निर्माणको अभियानमा दृढतापूर्वक अघि बढिरहने उल्लेख गरिएको छ।

प्रतिक्रिया