धनगढी, कैलाली — धनगढी उपमहानगरपालिकाले विद्यालयमा विद्यार्थी भर्ना तथा अध्ययन–अध्यापन सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा जारी सूचनाअनुसार नयाँ शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना र नियमित पठनपाठनको मिति निर्धारण गरिएको हो।
सूचनाअनुसार, उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान २०८३ साल बैशाख ४ गतेदेखि बैशाख ११ गतेसम्म सञ्चालन गरिने छ। यस अवधिमा सबै विद्यालयलाई सक्रिय रूपमा भर्ना अभियान सञ्चालन गर्न आग्रह गरिएको छ।
त्यसैगरी, नियमित पठनपाठन भने बैशाख १४ गतेदेखि सुरु हुने जनाइएको छ। तोकिएको समयभित्र भर्ना प्रक्रिया सम्पन्न गरी नियमित कक्षा सञ्चालन गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ।
उपमहानगरपालिकाले समयमै भर्ना तथा पठनपाठन सञ्चालन नगर्दा विद्यार्थीको शैक्षिक गतिविधिमा असर पर्ने, पाठ्यक्रम समयमै पूरा नहुने तथा शिक्षाको गुणस्तरमा कमी आउन सक्ने भएकाले सबै विद्यालयलाई निर्धारित मिति कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
यस निर्णयले नयाँ शैक्षिक सत्रलाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ। साथै, अभिभावक तथा विद्यार्थीहरूलाई पनि समयमै भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।
२ बैशाख २०८३, बिहिबार ०५:१८ मा प्रकाशित