अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) बाट औपचारिक रूपमा बाहिरियो

khabarhubs.com

अमेरिका-वाशिङ्टन,संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा आफ्नो सदस्यता अन्त्य गरेको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियर र विदेशमन्त्री मार्को रुबियोले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकाको डब्लुएचओबाट पूर्ण रूपमा बहिर्गमन सम्पन्न भएको घोषणा गरेका हुन्।

यो निर्णयसँगै सन् १९४८ मा डब्लुएचओ स्थापना भएयता पहिलोपटक अमेरिका संगठनको सदस्य रहेन। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमै सन् २०२० मा डब्लुएचओबाट बाहिरिने संकेत दिएका थिए भने दोस्रो कार्यकालको पहिलो दिन, जनवरी २०, २०२५ मा औपचारिक निर्णय लिएका थिए। तर अमेरिकी कानुनी प्रावधानअनुसार एक वर्षपछि मात्र यो निर्णय कार्यान्वयनमा आएको हो।

अमेरिकी पक्षले कोभिड–१९ महामारीका बेला डब्लुएचओको कार्यसम्पादन असफल भएको आरोप लगाउँदै संगठनबाट बाहिरिने निर्णय गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “अबदेखि डब्लुएचओसँग अमेरिकी संलग्नता केवल बहिर्गमन प्रक्रिया पूरा गर्न र अमेरिकी जनताको स्वास्थ्य सुरक्षामा सीमित रहनेछ।” साथै डब्लुएचओका लागि दिइने सम्पूर्ण अमेरिकी आर्थिक सहयोग रोकिएको पनि उल्लेख गरिएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेहब्रेयेससले अमेरिकी बहिर्गमनपछि उत्पन्न आर्थिक संकटका कारण संगठनले खर्च कटौती गर्नुपरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफान दुजारिकले अमेरिका व्यवहारिक रूपमा डब्लुएचओको काममा सहभागी नरहेको भए पनि केही कानुनी प्रक्रिया अझै बाँकी रहेको बताएका छन्। उनले भने, “स्वास्थ्यजस्ता सीमाना नमान्ने विषयमा अन्तर्राष्ट्रिय सहकार्य अत्यावश्यक छ, र त्यसका लागि डब्लुएचओ नै उपयुक्त मञ्च हो।”

अमेरिकाको निर्णयप्रति सार्वजनिक स्वास्थ्य क्षेत्रका विज्ञहरूले चासो र आलोचना व्यक्त गरेका छन्। जनस्वास्थ्य अभियन्ता लकी ट्रानले सामाजिक सञ्जालमा लेखेका छन्, “डब्लुएचओ पूर्ण छैन, तर यसलाई सुधार्ने उपाय सहभागिता नै हो। बहिर्गमन लापरवाह कदम हो र यसले हामी सबैलाई अझ असुरक्षित बनाउँछ।”

डब्लुएचओले विश्वव्यापी महामारी, इबोला, क्षयरोग जस्ता रोग नियन्त्रण, प्राकृतिक विपत्ति र मानवीय संकटमा चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्दै आएको छ। अमेरिका बाहिरिएसँगै हाल संगठनका सदस्य राष्ट्र संख्या १९३ मा झरेको छ।


प्रतिक्रिया