फुजैराह, यूएई-विश्व तेक्वान्दो परिवार फुजैराह, संयुक्त अरब इमिरेट्समा भेला भई वर्ल्ड तेक्वान्दो २०२५ गाला अवार्ड भव्य रूपमा सम्पन्न भएको छ। अल बहार होटलमा आयोजित कार्यक्रममा सन् २०२५ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा सदस्य राष्ट्र संघहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा वर्ल्ड तेक्वान्दोका अध्यक्ष डा. चुंगवन चोउ, परिषद् सदस्यहरू, महादेशीय संघका प्रतिनिधि, विभिन्न देशका तेक्वान्दो अधिकारीहरू तथा फुजैराहका क्राउन प्रिन्स महामहिम शेख मोहम्मद बिन हमद बिन मोहम्मद अल शार्कीको विशेष उपस्थिति रहेको थियो।
नेपालका कबिराज नेगी लामालाई सन् २०२४ मा नेपालले जितेको ऐतिहासिक पहिलो पारा ओलम्पिक पदक तथा एशियन यूथ पारा गेम्स दुबई २०२५ मा कांस्य पदक दिलाउन खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै सम्मान गरिएको हो। यो अवार्ड नेपालका लागि ऐतिहासिक उपलब्धि हो।
पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कबिराज नेगी विश्व तेक्वान्दोको प्रतिष्ठित सम्मान “World Taekwondo Gala Award – Para Taekwondo Coach of the Year” बाट सम्मानित भएका छन्। संयुक्त अरब इमिरेट्स (UAE) को फुजैराहमा आयोजित विशेष समारोहबीच उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
अवार्ड प्राप्त गरेपछि नेगीले यस सम्मानलाई आफ्नो प्रिय मातृभूमि नेपाल तथा सम्पूर्ण नेपालीहरूलाई समर्पण गरेका छन्। स्वयंसेवी प्रशिक्षकको रूपमा कार्य गर्दै आएको व्यक्तिले यस्तो उच्च अन्तर्राष्ट्रिय सम्मान पाउने कल्पनासमेत नगरेको बताउँदै उनले यो उपलब्धि अत्यन्तै भावुक र अर्थपूर्ण रहेको प्रतिक्रिया दिए।
उनले विश्व तेक्वान्दोका अध्यक्ष डा. चुंगवोन चोए तथा सम्पूर्ण वर्ल्ड तेक्वान्दो परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै, आफूलाई यस सम्मानका लागि चयन गर्ने वर्ल्ड तेक्वान्दो टेक्निकल कमिसनलाई विशेष धन्यवाद दिएका छन्।
त्यसैगरी, नेपाल तेक्वान्दो संघ तथा सम्पूर्ण नेपाल तेक्वान्दो परिवारको निरन्तर सहयोग र मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गर्दै उनले पारा तेक्वान्दो खेलाडीहरूको समर्पण, मेहनत र विश्वासकै कारण यो सफलता सम्भव भएको बताएका छन्।
नेगीले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल राष्ट्रिय प्यारालिम्पिक समिति, नेपाल ओलम्पिक समिति, खेलकुद पत्रकार तथा सम्पूर्ण नेपालीहरूको निरन्तर हौसला, प्रेरणा र समर्थनप्रति पनि हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
यो सम्मानले नेपाली पारा तेक्वान्दोको अन्तर्राष्ट्रिय पहिचान अझ सुदृढ बनाएको खेल क्षेत्रका जानकारहरूले बताएका छन्।